आज :

ताजा समाचार

अरुको मर्यादामा आँच पुर्‍याउने पत्रकारलाई १० लाखसम्म जरिवाना

  पुरुषोत्तम ढकाल    २७ बैशाख २०७६, शुक्रबार ०८:२०      333 Views

बैशाख २७, २०७६ काठमाडौं : पत्रकारले आचार–संहिता उल्लंघन गरी कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याउनेगरी समाचार प्रकाशन÷प्रसारण गरे १० लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था राखेर विधेयक आएको छ। नागरिक दैनिकमा समाचार छ, प्रतिनिधिसभामा बिहीबार दर्ता भएको ‘नेपाल मिडिया काउन्सिलसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक’ले पत्रकारलाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवानाको व्यवस्था गरेको हो। ‘जाँचबुझ गर्दा कसैको मर्यादा र प्रतिष्ठामा आँच पुर्‍याएको देखिएमा आमसञ्चार, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजारदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ,’ विधेयकमा उल्लेख छ। प्रेस काउन्सिलले कारबाही गर्नुअघि एकपटक सम्बन्धित पक्षलाई स्पष्टीकरण लिने व्यवस्था पनि विधेयकले गरेको छ। यसअघि प्रेस काउन्सिल विधेयकमा पत्रकारलाई जरिवानाको व्यवस्था गरिएको थिएन। विधेयकमा काउन्सिलले उजुरी गर्ने पक्षसँग मेलमिलाप गराउने, उसको भनाइ प्रकाशन गर्न लगाउने, क्षमायाचना गर्न लगाउने, खण्डन–प्रकाशन गर्न लगाउने, सम्पादक, संवददाताको प्रेस पास निश्चित अवधिका लागि निलम्बन गर्नेलगायत कारबाही गर्ने व्यवस्था गरिएको छ। यसैगरी, पटकपटक आचारसंहिता उल्लंघन गरे सञ्चारमाध्यम, सम्पादक, पत्रकार वा संवाददातालाई सरकारबाट पाउने सहुलियत र सुविधा निश्चित अवधिका लागि आंशिक वा पुरै रोक लगाउन सरकारलाई सिफारिस गर्ने विधेयकमा उल्लेख छ। ‘आचारसंहिता उल्लङ्घनमा १० लाखसम्म जरिवाना’ शीर्षकमा गोरखापत्र दैनिकमा पनि समाचार छ। प्रस्तावित विधेयक पारितपछि हालको प्रेस काउन्सिल मिडिया काउन्सिलमा परिणत हुनेछ । विधेयक पारितसँगै हालका पदाधिकारी भने स्वतः पदमुक्त हुने प्रस्ताव छ । काउन्सिलले जारी गरेको आचारसंहिता उल्लङ्घन गरेमा २५ हजारदेखि दश लाख रुपैयाँसम्म जरिवानाको प्रस्ताव विधेयकमा छ ।


प्रतिक्रिया दिनुहोस