आज :

ताजा समाचार

धानबालीको फेद कुहिने रोग कसरी नियन्त्रण गर्ने?

  पुरुषोत्तम ढकाल    २६ बैशाख २०७६, बिहीबार ०८:५६      888 Views

धानबालीमा लाग्ने रोगहरुमध्ये फेद कुहिने/बकाने एउटा प्रमुख रोग हो। जापानी भाषामा ‘बकाने’को अर्थ ‘मुर्ख बेर्ना’ हो। यो रोग १८५ वर्षअघि अर्थात सन् १८२८ मा पहिलोपल्ट जापानमा पाइएको थियो। यो नेपालको तराई, भित्री तराई, उपत्यका तथा मध्य पहाडी क्षेत्रमा लाग्ने गर्दछ। यो रोगविशेष गरी खुमल–४ जातको धानबालीमा लाग्दछ । नेपालमै पोखरेली मसिनो र आइआर २८ बीचप्रजनन गरी विकास गरिएको र ब्लाष्ट रोग नलाग्ने (अवरोधक) यो जात सन् १९८७ मा मध्य पहाडी भेगको लागि सिफारिस भएको थियो । त्यस बखत खुमल–४ लगायतका विभिन्न धानका जातमा ब्लाष्ट रोग अवरोधी गुण निर्धारण गर्न खुमल–४ का प्रजननकर्ता केदारप्रसादश्रेष्ठ, कृषि विज्ञ स्व. हरिबहादुर केसी र म स्वयंले नेपालका विभिन्न क्षेत्रमा परीक्षण गरेका थियौं ।
व्यापारीहरुले खुमल–४ को चामल र तराईतिरका केही मसिना धानको चामललाई ‘जिरा मसिनो’ नाम दिएर बजारमा बिक्री गर्ने गरेका छन् ।खासमा नेपालमा फेद कुहिने रोगको प्रकोप यही खुमल–४ जातको खेती बढेसँगसँगै भएको हो । यो रोगको प्रकोप बढ्न थालेपछि खुमलटारस्थित बाली रोग विज्ञान महाशाखामा अनुसन्धान परीक्षण गरी नियन्त्रणको उपायहरु सिफारिस भए । साथै सोसम्बन्धी कृषकहरुलाई तालिम तथा कृषककै खेतमा परीक्षण प्रदर्शन भए। अहिले धान लगाउने समय भएकाले यसबारे जानकारी दिने उद्देश्यले यो सामग्री तयार गरिएको हो ।
रोगबाट हुने नोक्सानी
यो रोग लागेमा ठाउँठाउँमा पूरै बोट मर्ने र नमरेका रोगी बोटका बालाहरुमा पोगटा बढी पर्ने हुन्छ । यो रोगबाट ४० देखि ५० प्रतिशतसम्म उत्पादनमा कमी आउँछ ।
रोगको लक्षण
ब्याडमा रोगी बेर्नाहरु स्वस्थ बेर्नाभन्दा अग्ला र पहेँलिएका हुन्छन् (बकाने लक्षण) । खेतमा पनि सोही किसिमका लक्षण देखिन्छन् (तस्बिर १) र पछि गएर फेद कुहिएर मर्छन् (तस्बिर २) । पानी कम हुने ठाउँमा बोट होचो हुन्छ । रोगी बोटको तल्लो आँख्लाबाट मकैमा जरा निस्कन सक्छ ।

तस्बिर १- खेतमा अरु बोटहरुभन्दा अग्ला र पहेँला धानका बोटहरु।

 

तस्बिर २. फेद कुहिएर मरेको बोट

रोगको जीवाणु
यो रोगको जीवाणु जिब्बरेलाफुजिकुरोइ स्पेसिस कम्प्लेक्सको खासगरी फ्युजारियम प्रोलिफराटम (यसलाई पहिले फ्युजारियम मोनिलिफर्मेमानिन्थ्यो) नामक ढुसी हो (तस्बिर ३)। यसले दुई किसिमका रासायनिक पदार्थहरु फ्युजारिक एसिड र जीबरेलिन उत्पादन गर्दछ । फ्युजारिक एसिडले बोटलाई होचो बनाउँछ र जीबरेलिनले अग्लो बनाउँछ ।

तस्बिर ३. फ्युजारियम प्रोलिफराटम ढुसीको बीजाणु (सुक्ष्मदर्शक यन्त्रबाट देखिने)

रोग लाग्न अनुकूल वातावरण
यो रोग लाग्ने जातको धानको खेती (जस्तै खुमल–४, पोखरेली मसिनो), रोगी बीउ र नाइट्रोजनयुक्त मल जस्तै युरियाको मात्रै बढी प्रयोगले यो रोग लाग्नमा मद्दत मिल्दछ । त्यस्तै बढी तापक्रम (३० डिग्रीभन्दा माथि), आद्र हावापानी र धाप खेतमा यो रोगको प्रकोप बढी हुन्छ ।
रोग–चक्र
यो रोगको जीवाणु खासगरी बीउबाट सर्दछ ता पनि माटोमा पनि रहन्छ । मैले विभिन्न समयमा खुमल–४ को बीउ परीक्षण गर्दा सतप्रतिशतसम्म संक्रमित पाएको छु । माथिउल्लेख भएअनुसारको वातावरण पाएपछि यो रोगको ढुसीले बोटको तल्लो भागमा आक्रमण गर्दछ र बोट रोगाउन शुरु भई लक्षणहरु देखिन थाल्छन् । सबै रोगी बोटहरु मर्छन् नै भन्ने छैन । यिनै रोगी तर नमरेका रोगीबोटहरुबाट उत्पादित धानको दानामा रोगका जीवाणुहरु रहन्छन् र अर्को वर्ष आफ्नो जीवनचर्या शुरु गर्छन् ।
रोगको नियन्त्रण
(१) रोगीबोट देख्ने बित्तिकै त्यसलाई उखेलेर नष्ट गर्ने (जलाउने), जसले गर्दा रोग अर्कोमा नसरोस् ।
(२) नाइट्रोजनयुक्तमल जस्तै युरियामात्रप्रयोग नगरी फोस्फोरस र पोटासयुक्त मल पनि सिफारिसअनुसार प्रयोग गर्ने। यसले बिरुवाको रोगसँग लड्ने क्षमतालाई बढाउँछ ।
(३) स्वस्थ बीउको प्रयोग गर्ने । बीउ स्वस्थ छ छैन सम्बन्धित प्रयोगशालामा परीक्षण गराउने ।
(४) बीउ रोगी पाइएमा कार्वेन्डाजिमयुक्त ३ ग्रामविषादी (जस्तै वेभिष्टीन, डेरोसालआदिपाउडर) प्रतिकिलोग्राम धानको बीउका दरले उपचार गरेर ब्याड राख्ने । ब्याड राख्नुभन्दा कम्तीमा २ दिनअघि बीउ उपचार गर्नुपर्छ । बीउ उपचार गर्दा बीउमा भएका रोगका जीवाणु नष्ट हुन्छ (तस्बिर ४) ।
खुमल–४ जातकै धान खेती गर्दा बीउ उपचार गरेरै ब्याड राख्नु राम्रो हुन्छ । खुमल–४ जातको धानको बीउ उत्पादन गरी वितरण गर्ने बीउ व्यवसायी तथा कम्पनीहरुले यसतर्फ विशेष ध्यान दिनु जरुरी छ ।

तस्बिर ४. बेभिष्टिन विषादीले उपचार गरेको (बायाँ) र नगरेको (दायाँ) धानको बीउ । उपचार नगरेकोमा फ्युजारियम प्रोलिफराटम (सेतो ढुसी) स्पष्ट देखिन्छ ।

बीउ उपचार गर्ने तरिका
बिर्को भएको टीनको वा प्लास्टिकको  बट्टा/ढ्वाङमा बीउ र विषादी मिसाएर ४/५ मिनेटसम्म ओल्टाइ पल्टाइ तलमाथि चलाउने । ढ्वाङको सट्टा बाक्लो पोलिथिन थैलोप्रयोग गर्न सकिन्छ । मुख्य कुरा उपचार गर्दा विषादीको धुलो बाहिर निस्कनु भएन । अर्थात बीउ र विषादी मिसाउँदा बिर्को टम्म लागेको हुनुपर्‍यो, पोलिथिनको थैलो हो भने मुख बन्द गर्नुपर्‍यो। प्रयोग गरेको भाँडो वा प्लाष्टिकलाई अरु काममा खासगरी खाने कुरा राख्न प्रयोग गर्नुहुन्न । उपचारित बीउलाई खानमा प्रयोग गर्नुहुन्न । धेरै मात्रामा बीउ उपचार गर्न बीउ उपचार गर्ने ट्याङ्क (सिड ड्रेसर) पनि पाइन्छ ।
(५) ब्याडमा यो रोग देखिएमा बेर्नालाई रोप्नुभन्दा अगाडि माथि उल्लेखित विषादीको घोल (२ ग्राम प्रतिलिटर पानी) मा १०मिनेट जति जराको भागलाई डुबाएर रोप्ने ।
(६) खेतमा यो रोग देखिएमा माथि उल्लेखित विषादी २ ग्राम प्रतिलिटर पानीका दरले घोल बनाएर बोटमा पुरै पर्ने गरी छर्ने । तर छर्दाखेरि पातबाट टपटप चुहिने पनि हुनु भएन । राम्ररी छर्दा एक रोपनीमा करीब २५ देखि ३० लिटर विषादीको घोल लाग्दछ ।
(यो सामग्री हीराकाजी मानन्धरद्वारा लिखित पुस्तक ‘धानबालीमा लाग्ने रोगहरु र तिनका रोकथाम’ र हीराकाजी मानन्धर र गोपालप्रसाद पराजुलीले तयार गरेको तथा नार्कअन्तर्गत बाली रोग विज्ञान महाशाखा र डेनिस सीड हेल्थ सेन्टरले प्रकाशन गरेको लिफलेटमा आधारित छ।)


प्रतिक्रिया दिनुहोस