आज :

ताजा समाचार

नेपाल टेलिकमले बाणिज्य बैंकसँग मिलेर मोबाइल मनी सेवा ल्याउने

  खुल्ला पोस्ट    १९ बैशाख २०७६, बिहीबार १८:३६      607 Views

नेपाल टेलिकमले विभिन्न वस्तु तथा सेवा खरिद गर्दा मोबाइलबाटै पैसा तिर्न मिल्ने ‘मोबाइल मनी’ सेवा सुरु गर्ने भएको छ। राष्ट्रिय बाणिज्य बैंकसँगको सहकार्यमा टेलिकमले उक्त सेवा ल्याउने भएको हो।

टेलिकम आफैले मोबाइल मनी तथा फाइनान्सको सेवा दिन नमिल्ने कानुनी व्यवस्थाका कारण साहयक कम्पनी बनाएर सेवा ल्याउन लागिएको कम्पनीका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिए।

साहयक कम्पनी बनाउँदा टेलिकमले सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंकसँग सहकार्य गर्ने भएको छ। यसका लागि दुई कम्पनीबीच आझै सम्झौता पनि भएको छ। राष्ट्रिय आइसीटी दिवसको अवसरमा प्रधानमन्त्री केपी ओलीको उपस्थितिमा उक्त समझदारी भएको छ।

समझदारीसँगै नेपाल टेलिकमले दूसञ्चार प्राधिकरणबाट सेवा सञ्चालनका लागि नो अब्जेक्सन लेटर ल्याउने छ। त्यसपछि कम्पनी दर्ताको प्रक्रियाको काम शुरु हुने अधिकारीले जानकारी दिए।

कम्पनी फर्मेशन भएपछि नेपाल राष्ट्र बैंकमा सेवा सञ्चालन अनुमतिका लागि आवेदन दिइने छ। दशै अगाडि नै सेवा शुरु गर्नेगरी काम अघि बढ्ने अधिकारीको विश्वास छ।

दूरसञ्चारको प्रविधि, व्यवस्थापन र सी भएको टेलिकम, वित्तीय सेवा तथा व्यवस्थापनको ज्ञान भएको राष्ट्रिय बाणिज्य बैंक मिलेर देशकै ठूलो मोबाइल मनी सेवा दिने कम्पनी ल्याउने निश्चित भएको अधिकारीले बताए।

‘हाम्रो कम्पनी देशकै ठूलो हुने छ, पुँजी, प्रविधि र सञ्जालका हिसाबले हामी सबैभन्दा ठूलो, विश्वासिलो हुने छौं’ अधिकारीले भने।

डिजिटल फाइनान्स कम्पनी भनेर साहयक कम्पनीको सैद्धान्तिक नामाकरण भएपनि यसको नामाकरण निश्चित भएको छैन। उक्त कम्पनीमा नेपाल टेलिकमको बहुमत शेयर हुने छ भने बाणिज्य बैंकको सहयोगी। विस्तरै सर्वसधारणमा पनि सेयर जारी गरिने अधिकारीको भनाइ छ।

प्रारम्भिक सहमतिअनुसार कम्पनीको पुँजी १ अर्बको हुने छ।

टेलिकमको यो सेवा पछि अहिले बजारमा रहेका भुक्तानी सेवाप्रदायकको भन्दा फरक र थप सुविधा हुने छन्। अहिले उपभोक्ताले मोबाइलबाट भुक्तानी सेवा लिनका लागि एप्लीकेशन र इन्टरनेट अनिवर्या हुन्छ।

टेलिकमको मोबाइल मनी सेवामा भने सिमबाटै सिधै भुक्तानीको सुविधा हुने अधिकारीले जानकारी दिए। ‘हामी सिममै मोड्युल जडा गर्छौ जसबाट सिधै भुक्तानी दिन वा लिन सकिने छ’ उनले भने।

१ करोड ५० लाख ग्राहक संख्या भएको टेलिकम र ३० लाख ग्राहक भएको बाणिज्य बैंकले एकैपटक धेरै उपभोक्तामाझ पुग्न सकिने विश्वास लिएका छन्।

यो सेवा शुरु भएपछि बिना कुनै इन्टरनेट, एप्लीकेशन पनि बजारमा कुनै सामान किन्न, रेस्टुरेन्टमा खान वा कुनै सेवा उपभोग गर्न मन लागे आफ्नो मोबाइलबाटै पैसा तिर्न सकिने छ।

टेलिकमले २ वर्ष अघिदेखि मोबाइल मनी सेवाका बारेमा अध्ययन गरिरहेको थियो। भुक्तानी सेवाप्रदायकसँग साझेदारी गर्ने कि आफै चलाउने भन्ने बारे अलमलमा परेको थियो।

टेलिकमले २ वर्ष अघि विद्युतीय भुक्तानीको निम्ति रणनीतिक साझेदारीका लागि आएका प्रस्तावबारे अध्ययन गर्न टेलिकम सञ्चालक समितिले समिति गठन गरेको थियो।समितिले कुन मोडालिटीमा जाने, कसरी जाने, व्यावसायिक साझेदारी नै गर्ने कि माध्यम मात्र प्रयोग गर्ने लगायत विषयमा अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो।

अध्ययन समितिले टेलिकम सञ्चालक समितिलाई दुईवटा विकल्प दिएको थियो। भुक्तानी सेवाप्रदायक मध्ये कुनै एउटासँग रणनीतिक साझेदारी गरी अघि बढ्ने र टेलिकम आफैंले नयाँ सहायक कम्पनी स्थापना गरेर मोबाइल भुक्तानी सेवा सुरु गर्ने।

मोबाइल मनी सेवा के हो?
वस्तु तथा सेवा खरिद गर्दा मोबाइल फोनका माध्यमबाट गरिने भुक्तानीलाई मोबाइल भुक्तानी वा मोबाइल मनी भनिन्छ। सन् १९९७ बाट सुरु भएको यो प्रविधि विभिन्न देशमा विभिन्न मोडलमा सञ्चालन भइरहेको छ।

यो सेवाअन्तर्गत मोबाइलमा रहेको ब्यालेन्स रकमबाटै भुक्तानी गर्न सकिन्छ। यसका लागि एसएमएस वा कार्डको माध्यम प्रयोग गर्ने गरिन्छ।

जस्तो, कुनै पसलमा गएर ५० रुपैयाँको स्याउ किन्दा दोकानदारको मोबाइल नम्बरमा ग्राहकले एसएमएसबाट ५० रुपैयाँ पठाइदिनसक्छ। यो मोबाइल मनीको सबभन्दा सजिलो उपाय हो। अर्को, मोबाइलको डाटा प्रयोग गरेर सम्बन्धित बैंकमा रहेको खाताबाट पनि भुक्तानी गर्न सकिन्छ।

अफ्रिकाका केही देशमा निकै सफल मानिएको यो प्राविधि युरोप, अमेरिकामा पनि प्रचलित छ। दक्षिण एसियामा बंगलादेशमा यो लोकप्रिय छ।

नेपालमा भने बैंकमा गएर खाता खोल्ने वा तोकिएको एजेन्टकहाँ गएर पैसा जम्मा गरी मोबाइलबाट गरिने भुक्तानीलाई मोबाइल मनीका रूपमा परिभाषित गर्ने गरिएको छ। अब याे परिभाषा नेपाल टेलिकमले परिवर्तन गर्ने अधिकारीको भनाइ छ।

(seto pati)


प्रतिक्रिया दिनुहोस