आज :

ताजा समाचार

मेरो नेतृत्वमा भएका राम्रा कामलाई वर्तमान सरकारले आफूले गरेको भनेर भ्रम फैलायो : देउवा

  खुल्ला पोस्ट    १६ बैशाख २०७६, सोमबार १८:३५      372 Views

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले कुहिरोमा हराएको कागको नियतिबाट बाहिर निस्केर सही मार्गमा अघि बढ्न सरकारलाई सुझाव दिनुभएको छ ।

सोमबार संघीय संसदको बजेट अधिवेशनको पहिलो बैठकमा शुभकामना मन्तव्य राख्दै उहाँले संविधानको मार्गदर्शन र आफूले गरेको प्रतिबद्धताअनुसार काम गरेर देखाउन सुझाव दिनुभएको हो । विकास निर्माण भन्दा पनि शक्ति केन्द्रिकृत गर्ने गलत अभ्यासमा प्रधानमन्त्री लागेको आरोप उहाँले लगाउनुभयो । उहाँले संविधानविपरीत संवैधानिक अंगका अधिकार केन्द्रिकृत गर्ने प्रधानमन्त्रीको प्रयास सरकारकै लागि पनि प्रत्युत्पादक हुने चेतावनी दिनुभयो ।

उहाँले संवैधानिक मूल्य मान्यताविपरीत सबै अधिकार आफूमा केन्द्रित गरेर देशको विकास गर्न सक्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीमा अधिकार केन्द्रित गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान, सम्पत्ति शुद्धीकरणलगायतका कार्यालय प्रधानमन्त्री कार्यालयमा ल्याउने कार्य संघीयताको मर्म र भावनाविपरीत छ । राष्ट्रिय सुरक्षा परिषद्लाई निर्णय प्रक्रियाबाट अलग पारेर सेना परिचालनको अधिकार सम्पूर्ण रुपमा प्रधानमन्त्रीमा केन्द्रित गरेर, सबैखाले महत्वपूर्ण विकास निर्माणका कार्य स्थापित सरकारी निकायबाट खोसेर प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समितिको मातहतमा ल्याएर, अधिकार त हातमा आयो भन्ने लाग्ला । तर परिणाममा यो प्रत्युत्पादक हुनेछ ।’

नेता देउवाले बालुवाटारको सरकारीे जग्गा भूमाफियाको कब्जामा पुग्न लागेको तथ्य सार्वजनिक हुँदा पनि सरकार ढाकछोप गर्न लागिरहेको दाबी गर्नुभयो । उहाँले गल्ती, कमिकमजोरी सुधार गरेर अघि बढ्ने संकल्प गर्नुको सट्टा संविधानले स्थापित गरेको संघीय, लोकतान्त्रिक, गणतन्त्र र समावेशिताका संरचनालाई भत्काउनेतर्फ सरकारको क्रियाकलाप केन्द्रित भए त्यसको पार्टीले शसक्त प्रतिवाद गर्ने चेतावनी दिनुभयो ।

उहाँले दिनानुदिन ठूल–ठूला भ्रष्टाचारका काण्ड सुनेर नागरिक निराश बनेको टिप्पणी गर्नुभयो । उहाँले सरकारले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसकेको आरोप लगाउनुभयो । अभूतपूर्व ऐतिहासिक अवसरका बाबजुद सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको टिप्पणी उहाँले गर्नुभयो ।

विगतका सरकारले सम्पन्न गरेका योजनाहरु उद्घाटन गरेर आफैले सम्पन्न गरेको हुँ भनि झुट प्रचार गर्नबाहेक सरकारले उल्लेखनीय काम गर्न नसकेको टिप्पणी नेता देउवाले गर्नुभयो ।

विदेशी अनुदानको स्थिति निराशाजनक, वैदेशिक व्यापारघाटा र मूल्यवृद्धिले सिंगो देशकै अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको भन्दै उहाँले तामझाम र प्रचार गरेर भ्रम छर्नेबाहेक सरकारले कुनै पनि क्षेत्रमा सफलता प्राप्त गर्न नसकेको टिप्पणी गर्नुभयो ।

देउवाले भन्नुभयो, ‘विगतमा मेरो नेतृत्वमा रहेको सरकारले लागु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आफैले गरेको हुँ भनि तामझामका साथ प्रचार गरेर भ्रम छर्ने बाहेक यो कार्यमा अरु केही सफलता सरकारले प्राप्त गर्न सकेको छैन । स्पाइनल इन्जुरी, क्यान्सर, मुटु र मृगौलासम्बन्धी रोगबाट पीडित अशक्त बिरामीलाई जीविकोपार्जनका लागि मासिक ५ हजार भत्ता दिने मेरो नेतृत्वमा रहेको सरकारको निर्णयलाई यो सरकारले खारेज गर्‍यो । चिकित्सा शिक्षा सुधारका लागि हामीले गरेको प्रयास र प्रधानमन्त्री स्वयंको सार्वजनिक प्रतिबद्धताविपरीत चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गर्नु सरकारको गैर जिम्मेवार चरित्रको पराकाष्ठा हो ।’

बारा, पर्सा, रौतहट, धनुषालगायत जिल्लामा हावाहुरीको प्रकोपबाट प्रभावितलाई राहत र पुनःस्थापनाको काम प्रभावकारी ढंगले हुन नसकेको भन्दै उहाँले तत्काल राहत र पुनःथापनाको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले आम नागरिकको चाहनाअनुरुप संसदमा रचनात्मक र सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले प्रमुख प्रतिपक्षी दलको नाताले पार्टीले रचनात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि जाहेर गर्नुभयो ।
(उज्यालो)


प्रतिक्रिया दिनुहोस