आज :

ताजा समाचार

उपत्यकाका अव्यवस्थित टिकट काउन्टर हटाइने, टिकट वितरकलाई पोशाक अनिवार्य

  खुल्ला पोस्ट    १५ बैशाख २०७६, आईतवार १८:२८      437 Views

ट्राफिक प्रहरी महाशाखाले काठमाडौं रिङरोडभित्र भएका अव्यवस्थित टिकट काउन्टर एक हप्ता भित्रमा हटाउने भएको छ। अव्यवस्थित रूपमा टिकट काउन्टर राख्दा सवारी आवागमनमा असर परेको भन्दै हटाइने भएको हो।

महाशाखाका अनुसार गौशला, कोटेश्वर, सुन्धारा लगायतका स्थानमा जथाभावि राखिएका टिकट काउन्टर हटाइने छ। व्यवस्थित रूपमा टिकट वितरण गर्दा दलालीको विगविगी हट्ने महाशाखाले बताएको छ।

आगामी सोमबारदेखि अव्यवस्थित रूपमा राखिएका टिकट काउन्टर हट्ने महाशाखाका प्रवक्ता वसन्त पन्तले जानकारी दिए।

‘हामीले अहिलेबाट सूचना दिइरहेका छौँ। उनीहरूले हटाएनन् भने हामी आफै शुक्रबार र शनिबार गएर हटाउँछौं’, सेतोपाटीसँग उनले भने।

महाशाखाले नयाँ बसपार्कका टहरा पनि हटाउने योजना बनाएको छ। नेपाल यातायत व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले ट्राफिक सुधारका लागि ट्राफिक प्रहरीले चालेको कदम अत्यन्तै राम्रो भएको बताए।

‘ट्राफिक सुधारका लागि चालेको कदम अत्यन्तै राम्रो छ। यस्ता कार्यमा हामी यातायात व्यवसायी सधैं सहयोग गर्न तयार छौं’, उनले भने।

महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट जारी भएको तीन महिने सुधार योजना कार्यान्वयन भइरहेको छ।नयाँ बसपार्क टिकट काउन्टरका वितरकहरुले आजबाट पोशाक सहित परिचयपत्र लगाउन थालेका छन्। टिकट वितरणलाई व्यवस्थित बनाउन सो नियम लागू भएको हो।

जिल्ला प्रशासन कार्यलयमा केही दिन अगाडि भएको ट्राफिक प्रहरी र यातायत व्यवसायीको बैठकले नियम अनुसार राखिएका काउन्टरमा टिकट वितरण कर्ताले अनिवार्य परिचय पत्र सहित पोशाक लगाउने निर्णय गरेको हो।

अन्य टिकट वितरकलाई पनि १५ दिन भित्रमा पोशाक र परिचय पत्र लगाउन निर्देशन दिएको महासचिव सिटौलाले बताएका छन्।

वितरकहरूले परिचय पत्र देखिने गरी आकाशे निलो सर्ट र ग्रे कलरको पाइन्ट लगाउने छन्। पोशाक विनाका व्यक्तिले टिकट बेचे भने त्यसलाई कारबाही हुने छ। यात्रुले टिकट नलिई यात्रा गरे भने यात्रुको इन्सुरेन्स नहुने उनले जानकारी दिए।

नयाँ बसपार्कलाई अत्यन्त व्यवस्थित गर्न महासङ्घ र लोत्से बहुउद्देश्यीय प्रालिले त्यस वरपर सफा राख्न पनि भूमिका खेलेको छ। (सेतो पाटि)


प्रतिक्रिया दिनुहोस