बैशाख १३, २०७६ काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समायोजन सच्याउन माग गर्दै दर्ता भएका गुनासा केलाउन थालेको छ। करिब १३ हजार कर्मचारीले मन्त्रालयमा समायोजनसम्बन्धी गुनासा दर्ता गराएका छन्। गुनासो दर्ता गराउनेमध्ये धेरै स्वास्थ्य सेवाका कर्मचारी छन्। स्वास्थ्यका कर्मचारीलाई स्वास्थ्य मन्त्रालय र अन्य निजामती कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयमा गुनासो दर्ता गराउन भनिएको थियो। इमेल, फ्याक्सबाट समेत गुनासो दर्ता हुने व्यवस्था गरिएको थियो। स्वास्थ्य सेवामा अन्तिम समयमा हतारहतार समायोजन सूची सार्वजनिक गर्दा धेरै त्रुटि भएको पाइएको थियो। मन्त्रालयले वैशाख ५ गतेसम्म गुनासो दर्ता गर्ने समय दिएको थियो। मन्त्रालयका अनुसार पतिपत्नी एकै जिल्लामा समायोजन हुनुपर्ने, नागरिकताका आधारमा समायोजन हुनुपर्नेलगायत कर्मचारीका माग छन्। मन्त्रालयले गुनासा केलाइसकेपछि सच्याउन मनासिव देखिए संशोधन गर्नेछ। ‘धेरै नै त्रुटि भएको रहेछ भने सच्याइन्छ’, मन्त्रालयको समायोजन शाखाका प्रमुख केदारप्रसाद पनेरुले भने।