आज :

ताजा समाचार

‘टपरे शिक्षा’ भनेर हेपिएको विषयमा दलित र जनजाति विद्यार्थीको आकर्षण

  admin    १० बैशाख २०७६, मंगलवार ०८:२७      544 Views

पोखराः नेपालमा संस्कृत विषयलाई हेला र हाँसोको विषयका रूपमा बुझ्ने मानसिकता अझै गएको छैन । कतिपयले त यसलाई ‘टपरे शिक्षा’ भनेर पनि हेलाँको दृष्टिले हेर्ने गरेको पाइन्छ ।

संस्कृत शिक्षाको महत्व नबुझ्दा यो विषय पढ्ने विद्यार्थीहरू एकदम कम पाइन्छन् । विद्यार्थी अभावमा देशका विभिन्न संस्कृत विद्यालय बन्द हुने अवस्थासम्म पुगेका छन् ।

तर, पोखरास्थित संस्कृत माध्यमिक विद्यालयमा भने विद्यार्थी तथा अभिभावकको आकर्षण बढ्दो छ । केही वर्षअघिसम्म कमै विद्यार्थी पढ्ने यस विद्यालयमा पछिल्लो समयमा भने विद्यार्थीको चाप बढ्न थालेको छ । भाषा पाठशालाका रूपमा स्थापित पोखराको संस्कृत माविले यस क्षेत्रकै शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।

विसं १९५८ मा स्थापित यो विद्यालय पोखरा क्षेत्रकै पुरानो भएको र गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यार्थी तथा अभिभावकको मन जित्ने प्रयास गरेको व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालीले बताए । उनका अनुसार विद्यालयमा विद्यार्थी तथा अभिभावकको आकर्षण बढाउन निःशुल्क भर्नाका साथै पोसाक र पाठ्यपुस्तक निःशुल्क वितरण गरिएको छ ।

‘हामीले हाल ६० विद्यार्थीलाई आवासीय व्यवस्थासहित पठनपाठन गराउँदै आएका छौं’, अध्यक्ष नेपालीले भने, ‘केही वर्षअघिसम्म न्यून संख्यामा रहेका विद्यार्थी पछिल्ला वर्षमा बढ्दै दुई सय १७ सम्म पुगेको छ ।’

यस वर्ष पनि भर्ना अभियान जारी रहेको बताउँदै उनले उक्त संख्या वृद्धि हुने अपेक्षा गरिएको उल्लेख गरे । पछिल्लो समय विद्यालयमा ब्राह्मण मात्र नभई महिला तथा दलित समुदायका विद्यार्थीको पनि आकर्षण बढ्दै गएको छ ।

विद्यालयमा दलित विद्यार्थीको आकर्षण वृद्धि हुनुमा यहाँका समाजसेवी स्वर्गीय भवे सार्कीको प्रेरणाका साथै सामाजिक चेतनाले पनि साथ दिएको छ । दलित समुदायका विद्यार्थीलाई संस्कृत पढ्नुपर्छ भन्ने चेतना अभिवृद्धिमा स्व. सार्कीको महत्वपूर्ण योगदान रहेको यहाँका बासिन्दा बताउँछन् ।

विद्यालयमा हाल दुई सय १७ विद्यार्थीमध्ये लगभग ४० प्रतिशत दलित र ४० प्रतिशतकै हाराहारीमा ब्राह्मण क्षेत्री समुदायका विद्यार्थी रहेको विद्यालयका प्रधानाध्यापक गोविन्द सिग्देलले जानकारी दिए । विद्यालयमा लगभग २० प्रतिशत विद्यार्थी आदिवासी तथा जनजाति रहेको उनको भनाइ थियो ।

नैतिकता र सदाचारजस्ता कुरामा प्रत्यक्ष जोडिएको संस्कृत शिक्षालाई अनिवार्य बनाइनुपर्नेमा बेवास्ता गरिएकाले समस्याका रूपमा देखिएको छ । संस्कृत विद्यालय भन्नेबित्तिकै सबै विषय संस्कृत मात्रै पढ्नुपर्छ कि भन्ने सोचमा परिवर्तन नहुनु पनि समस्याका रूपमा रहेको अध्यक्ष नेपालीको भनाइ थियो ।

गुणस्तरलाई लक्ष गरी विद्यालयमा कक्षा ५ सम्म अंग्रेजी माध्यमबाटै पठनपाठन सुरु गरिसकेको र कक्षा ६ भन्दामाथि कूल ८०० पूर्णांकमध्ये २०० अंकको मात्र संस्कृत पढ्नुपर्छ, अन्य साधारण माविमा जस्तै हो भन्ने आम जनमानसमा जानकारी गराउन नसक्नाले पनि संस्कृत शिक्षाप्रति विद्यार्थी तथा अभिभावकको आकर्षण नबढेको यस क्षेत्रका जानकार बताउँछन् ।

विद्यालयमा कक्षा ११ र १२ को पठनपाठन सुरु गर्ने तयारी समेत गरिएको अध्यक्ष नेपालीले जानकारी दिए । प्राचीनकालमा गुरुकूल पद्धतिबाट अध्ययन–अध्यापन हुन्थ्यो र संस्कृत सिक्नु अनिवार्य थियो । पूर्वीय संस्कृतिका सम्पूर्ण धार्मिकग्रन्थ संस्कृत भाषामा रचिए पनि पछिल्लो समयमा यस शिक्षाप्रति आकर्षणभन्दा पनि विकर्षण बढी देखिएको छ ।

पूर्वीय संस्कृतिको मुख्य भाषाका साथै नेपाली भाषाको जननी संस्कृत भाषा रहे पनि यसको अध्ययन तथा अनुसन्धानको दायरालाई फराकिलो पार्न नसकिएको विन्दुवासिनी संस्कृत विद्यापीठका प्राचार्य डा जगन्नाथ रेग्मीले बताए ।

‘समाजमा नैतिकता, सदाचारको खडेरी पर्दै गएको अवस्थामा संस्कृत शिक्षाको आवश्यकता तथा महत्व अझै बढेर गएको छ’, उनले भने, ‘पछिल्ला समयमा कतिपय अभिभावककले आफ्ना बालबालिकालाई नैतिकता र सदाचारको पाठ पठाउन संस्कृतका गुरु खोज्ने क्रम पनि बढ्दै गएको छ ।’

अनुसन्धानको क्रमलाई बढाउँदै गएमा मात्र पनि यसको महत्व तथा गरिमा बढ्दै जानेतर्फ राज्यको ध्यान पुग्नुपर्ने डा. रेग्मीले बताए । संस्कृत भाषालाई मूलधारमा ल्याउनका लागि साधारण माविमा समेत कक्षा १० सम्म संस्कृत भाषा अनिवार्य गरिनुपर्ने आवश्यकता औंल्याउँदै उनले लोकसेवा आयोगको पाठ्यक्रममा संस्कृत शिक्षाका विषय समावेश गरिदिएमा यसप्रतिको आकर्षण अझै बढेर जाने बताए । –रासस


प्रतिक्रिया दिनुहोस