चैत २७, २०७५ ताप्लेजुङ : पाथीभरा दर्शन गरी फर्किएका तीर्थयात्री चढेको पिकअप भ्यान मंगलबार राति दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। मे १ ज १४८६ नम्बरको भ्यान राति ९ः५० बजे सदरमुकामस्थित सुकेटार विमानस्थल नजिक दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते ५४ वर्षीया मोतीमाया अधिकारी, ४२ वर्षीय एकनाथ सिग्देल, ८ वर्षीय निशान आचार्य, ४२ वर्षीय उद्धवप्रसाद सिग्देल र ३८ वर्षीया लक्ष्मी सिग्देललाई जिल्ला अस्पताल ताप्लेजुङमा उपचार हुन नसकेपछि अन्य अस्पताल र रेफर गरिएको छ। बाँकी ६ जनाको जिल्ला अस्पताल ताप्लेजुङमै उपचार भइरहेको छ। घाइतेहरु सबै बारा निजगढका भएको प्रहरीले जनाएको छ।