चैत २१, २०७५ काठमाडौं : नेपाली वैज्ञानिकले बनाएको पहिलो नानो स्याटेलाइट (भूउपग्रह) वैशाख ४ को राति २ बजे अमेरिकाको भर्जिनियाबाट प्रक्षेपण हुने भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का वैज्ञानिकहरूले जापानमा बनाएको स्याटेलाइट जापान एरोस्पेस एक्स्प्लोरेसन एजेन्सी (ज्याक्सा)को सहयोगमा प्रक्षेपण गरिने भएको हो। जेठको दोस्रो सातासम्म उक्त भूउपग्रहले अर्बिटमा प्रवेश पाउने गरी इन्टरनेसनल स्पेस स्टेसनसँग सहमति भइसकेको नास्टले जनाएको छ। नानो स्याटेलाइट लन्चिङ सफलताको दर ९० प्रतिशत तथा ‘अर्बिटल स्लट’मा तैनाथ हुने दर शतप्रतिशत रहेको नास्टको प्राविधिक संकायका प्रमुख इन्जिनियर डा. रवीन्द्रप्रसाद ढकालले बताए। सोहीअनुसार स्याटेलाइटको सफल प्रक्षेपण हुनेमा आफूहरू विश्वस्त रहेको उनको भनाइ छ। यो स्याटेलाइट लोअर बिटमा रहने पृथ्वीबाट करिब चार सय किलोमिटरको दूरीमा रहने समाचा नयाँ पत्रिका दैनिकमा छ। १० सेन्टिमिटर आकारको स्याटेलाइटको तौल १३ सय ग्राम छ। नानो स्याटेलाइटको उपयोगका लागि नास्टमा ग्राउन्ड स्टेसन बनाउन भने बाँकी छ। अबको केही दिनमै ग्राउन्ड स्टेसन तयार हुने नास्टले जनाएको छ। स्याटेलाइट प्रक्षेपण भएमा नेपालको समेत आफ्नै स्याटेलाइट हुनेछ। यसबाट नेपाली इन्जिनियरसमेत त्यसका लागि सक्षम रहेको सन्देश विश्वमा फैलने ढकालको भनाइ छ।