नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल मर्मत सम्भारका लागि भन्दै सोमबारबाट दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग पिच गर्नका लागि सोमबारबाट विमानस्थल दैनिक १० घण्टा बन्द गर्न लागिएको हो । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग मर्मतको तयारी अहिले अन्तिम चरणमा पुगेको छ ।
सोमबारबाट सुरु हुने मर्मतको कामका लागि निर्माण सामग्री संकलनको काम तीव्र रूपमा भइरहेको छ । विमानस्थलको धावनमार्ग मर्मतअघि ठेकेदारले ७० प्रतिशत निर्माण सामग्री संकलन गरिसक्नुपर्ने छ । सोहीअनुसार काम भइरहेको निर्माण कम्पनीले बताएको छ । विमानस्थल निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना नेसनल एरोटेक्नोलोजी इन्टरनेसनल इन्जिनियरिङ कर्पोरेसनलाई दिइएको छ ।
धावनमार्ग ममर्तका क्रममा दैनिक १० घण्टा विमानस्थल ठप्प हुनेछ । राति १० बजेदेखि आठ बजेसम्मका सबै उडान दिउँसो सारिएको विमानस्थल कार्यालयले जनाएको छ । मर्मत कार्य ९० दिनभित्र सक्नुपर्नेछ । निर्माण अवधिमा सबैभन्दा बढी आन्तरिक उडान प्रभावित हुनेछन् । विमानस्थल अहिले २१ घण्टा सञ्चालन हँुदै आएको छ । तर, समय घटाएपछि विमानको चाप बढी हुने र त्यसको असर यात्रुलाई पर्ने देखिएको छ ।
विमानस्थलले पनि अन्तर्राष्ट्रियभन्दा राष्ट्रिय उडानमा केही कटौती गर्न सुझाव दिएको छ । राति हुने अन्तर्राष्ट्रिय उडान १० बजेभित्र गराइसक्न र नभए बिहान ८ बजेपछि मात्र गर्न भनेको छ । जसअनुसार विमान कम्पनीले पनि समय तालिका मिलाएका छन् । यो मर्मत कार्य असारको मध्यसम्ममा सकिने ठेकदार कम्पनीले बताएको छ ।